कान्ति बाल अस्पतालमा ६ वर्षीया बालिकाको मृत्यु, डाक्टर भन्छन्-‘पालो कुर्दै गर्दा मृत्यु भयाे’

कान्ति बाल अस्पतालमा ६ वर्षीया बालिकाको मृत्यु, डाक्टर भन्छन्-‘पालो कुर्दै गर्दा मृत्यु भयाे’


काठमाडौं ।

कान्ति बाल अस्पतालको लापरबाहीका कारण ६ वर्षीया बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् ।

मकवानपुर, थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतकका परिवारले म‌ंगलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् ।

अस्पतालमा ५ बजे बेलुका ‘इमर्जेन्सी’ लगिएकी बालिकालाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ ।

बालिकाका हजुरबुबा कृष्ण गोपालीले ज्वरो र वान्ता भएपछि उनलाई अस्पताल लगिए पनि अस्पतालेल बेवास्ता गरेकै कारण उनको मृत्यु भएकाे बताए ।

उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएकी नातिनीकाे अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीर रूपमा लिनुपर्छ । यहाँको प्रशासनलाई कारबाही हुनुपर्छ ।’

अस्पतालका नवनियुक्त निर्देशक तथा डा. पंकज रायले बालिकाको मृत्यु पालो कुर्दै गर्दा भएको बताएका छन् ।

उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ । यहाँ आएकाहरूलाई अन्त जाउ भन्ने गरेको छैन । ती बालिका पालो कुरिरहेकी थिइन् । यसमा उपचारमा  हेलचेक्रयाइँ भयो भन्ने कुरा सरासर गलत हो । बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ ।’