म्याग्दी ।
उमेरले १ सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी–२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ ।
त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उहाँबाट टाढै बस्यो ।
बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोरारछोरी र नातीरनातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरुको साथ छैन ।
बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसकेका छन् भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँदैनन् । उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउछन् ।
“जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, उहाँहरु भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ”, उनले भने, “तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।” तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन ।
दम्पतीको दैनिकी सामान्य व्यक्ति जस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै प¥यो भने बाँच्नका लागि खाना खानै प¥यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनले खुसी व्यक्त गर्छन्।
विहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो । त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उनको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उहाँलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ ।
जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनीमा बाँच्ने चाहना अझै सकिएको छैन । उनीमा अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ । “लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन”, थापाले भने, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्पत्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।” ज्योतिषीले १ सय १० वर्षको आयु बताएको भन्दै उनी ठट्यौली शैलीमा भन्छन् “मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।”
थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।
कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरु दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।
प्रतिक्रिया