प्रधानमन्त्री कार्कीको संकेत-घिसिङ  दल खोलेर चुनाव लड्ने सम्भावना

प्रधानमन्त्री कार्कीको संकेत-घिसिङ  दल खोलेर चुनाव लड्ने सम्भावना

गृहमन्त्रीको कार्यकाल सकिएलगत्तै वकालतमा फर्कन्छु भन्नुभएको छ


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरेर आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको संकेत गरेकी छिन्।

शुक्रबार अपराह्न बालुवाटारमा आयोजित प्रधानमन्त्री–सम्पादक अन्तर्क्रियामा कार्कीले घिसिङसँग यस विषयमा आफैँले जिज्ञासा राखेको र उनी मुस्कुराएर टारेको खुलासा गरिन्। कार्यक्रममा निर्वाचन सफलता, शान्ति सुरक्षा, परराष्ट्र नीति र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको थियो। करिब २ दर्जन सम्पादक सहभागी उक्त अन्तर्क्रियामा निर्वाचन सफल पार्ने सुझावसमेत मागिएको थियो।

सम्पादकहरूले उठाएको एउटा प्रमुख जिज्ञासा थियो– सरकारको मुख्य जिम्मेवारी निर्वाचन गराउने भए पनि कुनै मन्त्रीले दल खोलेर चुनाव लड्ने तयारी गरेका छन् कि ? खासगरी ऊर्जामन्त्री घिसिङ हाल कुनै दलमा आबद्ध नभई आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने चर्चा चलिरहेको सन्दर्भमा यो प्रश्न उठेको हो।

प्रधानमन्त्री कार्कीले भनिन्, “मैले पनि उहाँले पार्टी खोल्ने र चुनाव लड्ने कुरा समाचारमा पढेर थाहा पाएकी हुँ। उहाँसँग सोध्दा ‘होइन’ भन्नुहुन्छ। तर कोही–कोहीले त उहाँ पार्टी गठन गरेर चुनाव लड्नुहुन्छ भन्छन्।”

यो जवाफ दिँदा मन्त्री घिसिङ मुस्कुराए मात्र, कुनै टिप्पणी गरेनन्। उनी स्वयं कार्यक्रममा उपस्थित थिए।

यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल पनि निर्वाचनमा होमिने चर्चामा थिए। राप्रपा नेता दीपक बोहोराको निधनपछि खाली रुपन्देही–३ मा १७ कात्तिकका लागि तोकिएको उपनिर्वाचनमा अर्यालले तयारी गरेका थिए। तर प्रतिनिधिसभा विघटन नभएको अवस्थामा उपनिर्वाचन स्थगित भयो।

गृहमन्त्री बनेपछि अर्यालले राजनीति र चुनाव दुवैबाट पन्छिएको प्रधानमन्त्रीले बताइन्। “ओमजी त वाक्क भइसक्नुभएको छ,” कार्कीले थपिन्, “गृहमन्त्रीको कार्यकाल सकिएलगत्तै वकालतमा फर्कन्छु भन्नुभएको छ।”

२३ भदौको ‘जेन–जी’ आन्दोलनअघि अर्यालको चुनावी तयारीको चर्चा चलेको थियो। तर अहिले उनी पूर्ण रूपमा सरकारी जिम्मेवारीमा केन्द्रित रहेको प्रधानमन्त्रीको भनाइ छ।

बालुवाटार अन्तर्क्रियाले सरकार निर्वाचनमा केन्द्रित रहे पनि मन्त्रीहरूको व्यक्तिगत राजनीतिक महत्वाकांक्षाले नयाँ तरंग ल्याउन सक्ने संकेत गरेको छ। ऊर्जामन्त्री घिसिङको मौनता र प्रधानमन्त्रीको संकेतले राजनीतिक वृत्तमा थप अटकलहरू बढाएको छ।