समाचार प्रभाव : २२ दिनदेखि जंगलमा अलपत्र वृद्धकाे उद्धार

समाचार प्रभाव : २२ दिनदेखि जंगलमा अलपत्र वृद्धकाे उद्धार


महाेत्तरी ।

परिवारकाे तिरस्कार सहन नसकेर २२ दिनदेखि अनकन्टार जंगलमा भाेकभाेकै बसिरहेका ८० वर्षीय वृद्धकाे उद्धार गरिएकाे छ ।

बलवा नगरपालिका वडा-११ रौजाका मोहम्मद एलाही शेख घरबाट निस्किएको २२ दिनसम्म मिथिला नगरपालिका-११ लालगढस्थित अजिंगरे डाँडाकाे जंगलमा बसिरहेकाे समाचार विकास टाइम्सले प्रकाशन गरेकाे थियाे ।

समाचार प्रकाशनपछि उनकाे परिवारका सदस्यहरू आएर उनलाई उद्धार गरी घर लगेका हुन् । २२ दिनअघिदेखि शेख बेपत्ता भएको तर उनले बताएजस्तो अवस्था नभएको परिवारको जिकिर छ ।

उनका छोरा नेसारुन शेखले विकास टाइम्सलाई धन्यवाद दिँदै भने-`समाचारबाट थाहा नपाएको भए त बुबालाई हामीले गुमाउन पनि सक्थ्यौँ ।´

शेखलाइ छोरी, ज्वाइँ, आफन्त र छिमेकीहरू आएर जुस र फलफूल खुवाएर घर लगेका छन् । अब उप्रान्त बुबाको उचित हेरचाह गर्ने र यस्तो अवस्था दोहोरिन नदिने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

उद्धारपछि वृद्ध एलाही शेखले हात हल्लाएर खुसी हुँदै भने- `तपाईँले खबर नछापिदिएकाे भए त  म यतै पो मर्थेँ होला ।´

३ छाेरी र २ छाेराका बाबु शेख परिवारले हेलाहाेचाे गरेपछि घर छाडेर हिँडेका थिए । शेखले १२ वर्षदेखि घर-परिवारबाट तिरस्कृत बन्दै आएपछि एकान्त खोज्दै यहाँ आइपुगेको भन्दै यसअघि भनेका थिए- `घरमा बस्न नसकेपछि २२ दिनअघि घरबाट निस्किएको हुँ, अब यतै मर्छु ।´

२२ दिनसम्म केही नखाएको बताउने शेखले आफ्नो ठेगाना र पारिवारिक विवरण बताउँदा पनि बोल्न सकिरहेका थिएनन् । पिकनिकका लागि त्यहाँ पुगेका व्यक्तिहरूले देखेपछि वृद्धको विषयमा खोजबिन भएको थियो ।

त्यसपछि जिल्ला समन्वय समितिका सदस्य राजन गौतमले स्थानीय सञ्चारकर्मीलाई खबर गरेपछि बलवा नगरपालिकामा जनप्रतिनिधिसँग बुझ्दा रौजाका नै भएको प्रमाणित भएको थियो ।

बलवा नगरपालिका-९ का वडाध्यक्ष सनौल शेखले पनि एलाही शेख वडा-११ कै भएको तर उनले कसरी घर छाडे भन्ने विषयमा जानकारी नभएको बताएका थिए भने नगर प्रमुख रामविजय महतोले यथार्थ बुझेर उद्धार गर्ने बताएका थिए ।