बुटवलमा रवि लामिछानेको मुद्दाको सुनुवाइ फेरि स्थगित

बुटवलमा रवि लामिछानेको मुद्दाको सुनुवाइ फेरि स्थगित


 

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्धको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दाको उच्च अदालत बुटवलमा आज तोकिएको सुनुवाइ स्थगित भएको छ।

गोला प्रथाबाट परेको न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा पेसी तोकिएको यो मुद्दा लामिछानेका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो। लामिछानेको मुद्दाको पेसी आजै उच्च अदालत पाटनमा पनि परेकाले एकैपटक दुई ठाउँमा सुनुवाइ हुन नसक्ने भन्दै उनका वकिलले स्थगन माग गरेका थिए।

अदालतका उपरजिष्ट्रार यज्ञमूर्ति ज्ञवालीले दिएको जानकारी अनुसार, “प्रतिवादीका कानुन व्यवसायीको निवेदनका आधारमा आजको सुनुवाइ स्थगित गरिएको हो। अब मिसिल प्राप्त भएपछि अर्को पेसी तोकिनेछ।”

यसअघि कात्तिक २७ गते उच्च अदालत बुटवलले सर्वोच्च अदालतमा विचाराधीन रहेको सुप्रिम सहकारीको मूल अभियोगको मिसिल झिकाउन आदेश दिएको थियो। सोही मिसिल प्राप्त हुने अपेक्षामा आजको पेसी तोकिएको थियो।

साउन २६ गते रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएपछि लामिछाने रूपन्देही कारागारमा छन्। उनीमाथि सुप्रिम सहकारीबाट १० करोड ९९ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ।

लामिछानेले आफूमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएका छन्।