नेपालमा कोदो उत्पादन बढाउनुपर्छ : वेदुराम भुसाल

नेपालमा कोदो उत्पादन बढाउनुपर्छ : वेदुराम भुसाल


काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्बर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए ।

उनले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गरे । उनले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गरे ।

कोदो स्वास्थ्यका लागि लाभदायी रहेको भन्दै उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरूले रुचि राखिरहेको बताए ।

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने उनको भनाइ छ । जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने र कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्रान्डिङ गर्नुपर्ने बताए ।

उनले भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको भन्दै नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्न सक्नुपर्ने बताए ।

उनले भारतले केही दिनपछि नै जी–२० सम्मेलन गरिरहेको र सो सम्मेलनमा पनि दिगो विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि प्राकृतिक कृषि क्षेत्रलाई प्रोत्साहन गर्नेगरी नेपालको कृषि प्रणाली विकास गर्ने बारेमान छलफल भएको बताए ।