काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)का शिक्षण संस्थाहरूबाट ठगीमा परेका नेपाली विद्यार्थीहरूको विवरण संकलन सुरु गरिएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले त्यस्ता विद्यार्थीहरूको विवरण संकलन सुरु गरेको हो ।
युएईका ‘फ्रि जोन’ हरूमा सञ्चालनमा रहेका विश्वविद्यालय, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूमा पढ्ने नेपाली विद्यार्थी ठगीमा परेको पाइएपछि विवरण संकलन थालिएको हो ।
नेपालबाट विश्वविद्यालयको डिग्री पाइने भन्दै लाखौँ तिरेर जाने विद्यार्थीहरूलाई युएईका फ्रि जाने क्षेत्रका इन्स्टिच्यूटमा पठाउने गरेको पाइएको थियो। भौतिक पूर्वाधार समेत नभएका ती शिक्षण संस्थाबाट विश्वविद्यालयको डिग्री दिने आश्वासनमा विद्यार्थीहरू जाने गरेका छन् । त्यहाँ पुगेपछि आफू ठगिएको भन्दै विद्यार्थीहरूले नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय तथा शिक्षा मन्त्रालयमा उजुरी दिएका थिए।
त्यसपछि उनीहरूको विवरण संकलन गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन विभागले पीडित विद्यार्थीहरूको विवरण संकलन थालेको हो ।
ती शैक्षिक संस्थाहरूमध्ये कतिपय मापदण्ड अनुरूप सञ्चालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आबद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिना भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी अनलाइन कक्षा हुने गरेको, प्रतिबद्धताअनुसार सेवा सुविधा उपलब्ध नगराएको लगायतका गुनासा युएईस्थित नेपाली राजदूतावासमा आउने गरेका छन्।
हाल यूएईमा रहेका तथा कोर्ष पुरा नगरी नेपाल फर्किएका, प्रतिबद्धता अनुसार यूएईमा रोजगारी नपाएका, कक्षा सञ्चालन नभएको र नेपालमा शैक्षिक परामर्श केन्द्र र मापदण्ड अनुरूप सञ्चालन नभएका भनिएका युएईका विश्वविद्यालय, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूको गलत सूचना तथा जानकारीका कारण समस्यामा परेका विद्यार्थीहरूलाई अनलाइनमार्फत विवरण पेश गर्न अनुरोध गरिएको हो।
पीडित विद्यार्थीहरूले क्युआर कोड तथा अनलाइन लिंकमार्फत फारम भरेर १५ दिनभित्र पेश गर्न अनुरोध गरिएको छ।
सूचना :


प्रतिक्रिया