ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग

ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग


काठमाडौँ । पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरे।

त्यस अवसरमा राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको बताए । उनले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रहरूमा अवसरको खोजी गर्नुपर्नेमा जोड दिए।

यहाँस्थित पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका-१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरेलगायत सहभागी थिए ।

पाकिस्तानले सन् २०१३ देखि उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका निम्ति फर्निचर, कम्प्युटरलगायत उपकरण सहयोग गर्दै आएको छ ।