आज पनि औषधि ऐनको विरोधमा विभागमा व्यवसायीले दिए धर्ना

आज पनि औषधि ऐनको विरोधमा विभागमा व्यवसायीले दिए धर्ना


काठमाडौँ। औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै व्यवसायीहरूले आज पनि औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन् ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौँ जिल्ला शाखाले महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाए । उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न उनले माग गरेका छन् ।

सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरू खोलिरहेको बताउँदै उनीहरूले प्रत्येक दिन पसल बन्द गर्ने समय १ घण्टाको दरले बढाउँदै लगिने बताएका छन् ।

१६ मंसिरसम्म माग सम्बोधन नभए १७ मंसिरदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरूले बताएका छन् । केही समय यता औषधि व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै धर्ना दिइरहेका छन् ।