चिनियाँ राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : मन्त्री यादव

चिनियाँ राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : मन्त्री यादव


काठमाडौं ।

खानेपानीमन्त्री महिन्द्रराय यादवले नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादित अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन्।

नेपालको आर्थिक अवस्था र नेपाल–भारत सम्बन्धबारे राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको मन्त्री यादवले बताएका हुन्।

राजदूत सोङले गत शनिवार आयोजित एक कार्यक्रममा भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको बताउँदै यस्तोमा नेपाल कसरी आत्मनिर्भर बन्न सक्छ भन्ने अभिव्यक्ति दिएका थिए।

उनले चीनसँग व्यापार गर्न पनि नेपाललाई आग्रह गरेका थिए।

राजदूत सोङको यो अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ।

यहीबीच मन्त्री यादवले पत्रकारसँगको कुराकानीमा एउटा देशको राजदूतले अर्को देशको विरूद्धमा अभिव्यक्ति दिनु कूटनीतिक मर्यादाविपरीत भएको बताएका हुन्।

नेपाल(भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिकसमेत रहेकाले सम्बन्धको बारेमा राजदूत सोङले यसरी कुरा उठाउन नमिल्ने मन्त्री यादवको भनाइ छ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादवले कोसँग व्यापार गर्ने वा नगर्ने भन्ने निर्णय गर्नमा नेपाल स्वतन्त्र रहेको बताए।

साथै उनले चीनले आफ्नो नयाँ नक्सामा नेपाली भूभागबारे उल्लेख गर्दा चुच्चे नक्सा नसमेटेकोप्रति पनि आपत्ति जनाए।

उनले भने, ‘नेपालको संसदले पारित गरेको, संविधानमा उल्लेख भइसकेको संविधानलाई चीनले मान्यता नदिनु भनेको नेपालको सार्वभौमिकताको अपमान हो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नक्सालगायतका विषयमा छलफल हुने पनि उनले बताए।