काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको एक साता पूरा भइसकेको छ। तर सेना कहिलेबाट फिल्डमा खटिन्छ भन्नेचाहिँ अझै प्रस्ट भइसकेको छैन।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले मंसिर ११ गते सेना परिचालनको स्वीकृति दिएका थिए। राष्ट्रपतिले स्वीकृति दिएकै भोलिपल्ट रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले जंगी अड्डामा निर्देशन सम्बोधन गरिन्। जसमा उनले निर्वाचन र बदलिँदो सुरक्षामा केन्द्रित हुने सेनालाई निर्देशन दिइन्।
यसअघिका निर्वाचनमा एक महिनापहिले मात्रै सेना परिचालन हुन्थ्यो। तर जेनजी आन्दोलनपछि देशको शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै यस पटक छिट्टै सेना परिचालनको निर्णय भएको छ।
‘कहिलेबाट परिचालन हुने भन्ने मिति तोकेर हामीलाई अहिलेसम्म पत्र प्राप्त भएको छैन। निर्वाचनपूर्वको अवस्थामा कसरी खटिने भन्ने निश्चित मिति तोकेरै आउनु पर्ने हो। हामीलाई प्राप्त भएको छैन,’ सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने।

प्रतिक्रिया