एउटै पर्वका लागि २ चोटि सार्वजनिक बिदा

एउटै पर्वका लागि २ चोटि सार्वजनिक बिदा


धनगढी ।

तिथि विवादका कारण एउटै पर्वको अवसरमा २ चोटि सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा मनाउने गौरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकामा दुई चोटि सार्वजनिक बिदा दिइएको हो ।

यसअघि, भदौ ७ गते गौरा पर्व मनाइएको थियो । सो पर्वको अवसरमा भदौ ७ गते सङ्घीय सरकारले र ८ गते प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिएको थियो ।

तर, स्थानीय ज्योतिषीहरूको भनाइ र निर्णय अनुसार कतिपयले भदौ २१ गते गौरापर्व मनाइरहेका छन् । त्यसको अवसरमा फेरि स्थानीय सरकारले भदौ २१ गते एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो ।

धनगढी उपमहानगरपालिकाको हिजोको निर्णय अनुसार सार्वजनिक बिदा दिएको सो पालिकाले सूचना प्रकाशित गरेर जनाएको छ । योसँगै गौरापर्वको अवसरमा मात्रै धनगढीमा भएको सार्वजनिक बिदा दिएको दिन संख्या ३ पुगेको छ ।