अष्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

अष्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने


क्यानबेरा । अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् । प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताए।

यो नियम बुधबारदेखि लागू हुँदैछ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ ।

हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ ।

प्रधानमन्त्रीले भने,“आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो ।”

यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन् । जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ । नियम बारम्बार नमान्ने कम्पनीलाई ठूलो जरिवाना लाग्नेछ ।

सरकारले उमेर पत्ता लगाउने प्रविधि पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्ने बताएको छ ।