दुबईमा म्यानेजरको जागिर छाडेर नेपालमा च्याउखेती, मासिक सवा लाख कमाइ

दुबईमा म्यानेजरको जागिर छाडेर नेपालमा च्याउखेती, मासिक सवा लाख कमाइ

१ करोड लगानी, ९ जनालाई राेजगारी


काठमाडौँ ।

वैदेशिक रोजगारीमा ५ वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा १ करोड रुपैयाँ लगानी गरेका छन् ।

युएईमा म्यानेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै १ लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए ।

‘अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाइ भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो,ु पौडेल भन्छन्, ‘४ वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।’

२०७६ सालमा काठमाडौँको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । अहिले ४५ च्याउ घर छन् । २ रोपनीमा ग्रिन हाउस छ ।

पौडेल भन्छन्, ‘१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक ७५ हजार रुपैयाँ भाडामा लिएको छु, च्याउमा मात्रै पूरा १ करोड लगानी भएको छ ।’

अहिले दैनिक ५०० किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ । १ वर्षमा १ लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ ।

सदर प्रतिकिलो १२० मा बिक्री गर्दा वार्षिक १ करोड ४४ लाखको करोबार हुने उनको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले २५ लाखमा गाडी किनेका छन् ।

३ जना पूर्णकालीन र ६ जना आंशिक गरी ९ जनालाई उनले रोजगारी पनि दिएका छन् । पौडेल भन्छन्, ‘हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।’

उनले दुइटा ग्रिन हाउस बनाउन ६ लाख रुपैयाँ अनुदान सरकारबाट लिएका छन् । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चा पदार्थ खर्च, औषधि उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक १ लाख २० हजार बराबर कमाइ हुने उनको भनाइ छ ।

‘कमाएको हिसाबले विदेशमा मासिक ७५ हजार आउँथ्यो । बिना लगानीको कमाइ ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी १ करोडमध्ये ५० लाख ऋण छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु,ु उनले भने ।

जाडो मौसममा ३ किलो र गर्मी मौसममा २ किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका ३२ रुपैयाँ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर १ हजार रुपैयाँ दैनिक पाउँछन् ।