बंगलादेशमा सन् २०२५ मा डेंगुका कारण चार सय भन्दा बढीको मृत्यु

बंगलादेशमा सन् २०२५ मा डेंगुका कारण चार सय भन्दा बढीको मृत्यु


एएफपी । बंगलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बंगलादेशको स्वास्थ्य विभागको तथ्यांकले बुधबार देखाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले जारी गरेको तथ्यांक अनुसार दक्षिण एसियाली मुलुक बंगलादेशमा जनवरी देखि डेंगु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ ।

डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ ।

नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।

तिव्र डेंगु सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

डेंगु ज्वरो सङ्क्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो ।

यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लाग्ने जस्ता लक्षणहरूसहित मानिसहरूलाई सिथिल बनाउने जनाइएको छ ।