किसानलाई दूधमा दश रुपैयाँ अनुदान

किसानलाई दूधमा दश रुपैयाँ अनुदान


दमौली (तनहुँ) । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ ।

दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।

नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।

नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० तोकिएको छ ।

यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।