मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे


मुस्ताङ । यहाँको घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।

किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए । ती मध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिव ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल जाँदै गरेको बताए। पछिल्लो समय मानव र हिउँ चितुवा बीचको द्धन्द बढ्दै जान थालेको छ । हिउँदयाममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजातिहरू चरनक्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन् । हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरुको पशुधनमा क्षति पुर्‍याउने गरेको पाइएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बिचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ । यसैका कारण जिल्लाका कतिपय किसानहरू पशुपालन व्यवसाय छोड्न थालिसकेका छन् ।