तीनै तहका सरकारको सहकार्यमा अस्पताल स्तरोन्नति गर्न अर्थमन्त्री खनालको जोड

तीनै तहका सरकारको सहकार्यमा अस्पताल स्तरोन्नति गर्न अर्थमन्त्री खनालको जोड


काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वमा आएका अस्पतालहरूको स्तरोन्नति गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा जोड दिएका छन् ।

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल परिसरमा बिहीबार आयोजित जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पतालको सेवा विस्तारसहित स्तरोन्नतिका लागि अहिलेको बजेट परिधिमा रहेर स्वास्थ्य मन्त्रालयको बजेटबाट केही गर्न सकिने बताएका हुन्।

‘बजेटको मध्यावधि समीक्षा गरी केही व्यवस्था गर्न सकिन्छ,’ उनले भने ‘प्रदेशका स्वास्थ्य मन्त्रीले पनि मुख्यमन्त्रीसँग समन्वय गरी खर्च हुन नसकेको बजेट अस्पतालका लागि व्यवस्थापन गर्न सक्छन् ।’

लहान नगरपालिकाले पनि अस्पतालका लागि स्रोत छुट्यायो भने संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सुविधा सम्पन्न अस्पताल बनाउन सकिने उनले बताए । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको अस्पतालमा ट्रमा सेन्टर समेत सञ्चालन गर्न सकिए दुर्घटनामा परेकाहरूले तत्काल सेवा पाउने उनले बताए ।