बेनी–जोमसोम–कोरला सडकको ८ खण्डको निर्माण सकियो, यात्रा अवधि १ घन्टा छोटियो

बेनी–जोमसोम–कोरला सडकको ८ खण्डको निर्माण सकियो, यात्रा अवधि १ घन्टा छोटियो


म्याग्दी ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको ८ वटा खण्ड स्तरोन्नति गरिएको छ ।

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २ सय २ किलोमिटर दूरीको सडक २ लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷०७४ देखि सुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो ।

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन ७ अर्ब ५५ करोड लागत अनुुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म ६ अर्बभन्दा बढी खर्च भइसकेको छ । योजनाका प्रमुख जगत प्रजापतिले छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र २ वटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिए ।

“१ सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुस्ताङको थासाङ गाउँपालिका–५ को कैकुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ”, उनले भने, “कागबेनी–कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ–छोसेरबाहेक ६ खण्डमा ग्राभेल गरिएको छ ।”

एक किलोमिटर ३ सय मिटर दूरीको गलेश्वर–राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुखोला–खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएका योजना प्रमुख प्रजापतिले जानकारी दिए ।

तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा ३ वर्षपछि ठेकेदार काममा फर्किएका छन् । ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

जोमसोम–कोरला खण्डको अन्य ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेका योजना प्रमुख प्रजापतिले बताउ ।

१८ किलोमिटर दूरीको कागबेनी–ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे– चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले–भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना–झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।

झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी खण्डको ४२, ३ किलोमिटर दूरीको बेनी–गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट–नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल–घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ । म्याग्दीको राहुुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारको छ ।

योजनामार्फत ८ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप १ वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । १२ वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप ५ ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।