विद्यार्थीलाई पढ्ने बानी लगाउन पढाइ मेला

विद्यार्थीलाई पढ्ने बानी लगाउन पढाइ मेला


स्याङ्जा ।

पछिल्लो समय पढाइमा देखिएको अवरोधलाई हटाई विद्यार्थीहरूमा पढ्ने बानीको विकास गराउन वालिङमा पढाइ मेलाको आयोजना गरिएको छ । ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर वालिङमा पढाइ मेला गरिएको हो ।

रुम टु रिड, (पढ्नका लागि कोठा) र सूर्योदय क्लबको आयोजनामा गरिएको मेलामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । पछिल्लो समय विद्यार्थीहरूले पुस्तक पढ्नेतर्फ ध्यान नदिइरहेको रुम टु रिडका अधिकृत ओमकुमार श्रेष्ठले बताए ।

‘पछिल्लो समय मोबाइलमा विद्यार्थीहरूको ध्यान धेरै गइरहेको छ,’ उनले भने, ‘जसले विभिन्न प्रकृतिका पुस्तकहरूको ज्ञान लिनबाट वञ्चित गराएको छ ।’ रोचक कथाहरू समेटिएका पुस्तकप्रति मेलामा आएका विद्यार्थीको ध्यान धेरै गएको पाइएको अधिकृत श्रेष्ठले जानकारी दिए ।

सानै उमेरदेखि बालबालिकालाई विभिन्न प्रकृतिका पुस्तकहरू पढ्ने बानी बसाल्नुपर्ने भन्दै श्रेष्ठले अभिभावक तथा शिक्षकहरूले विद्यार्थीलाई बाह्य ज्ञानका लागि सहयोग हुने गरी पढाउनुपर्ने सुझाव दिएका छन् ।

पढाइ मेलामा ८०० भन्दा धेरै विद्यार्थी तथा सयभन्दा धेरै अभिभावकहरूले भ्रमण गरेको सूर्योदय क्लबका कार्यक्रम संयोजक आशिष न्यौपानेले जानकारी दिए । विद्यार्थीहरूलाई रोचक कथा तथा विभिन्न जानकारी समेटिएका पुस्तकहरू निःशुल्क वितरण गरिएको न्यौपानेले बताए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवद्र्धन’ भन्ने नाराका साथ स्याङ्जाका ११ वटै पालिकामा यो दिवस मनाइएको छ । जिल्लाका प्रायः सबै विद्यालयले दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको जनाएका छन् ।

रुम टु रिडले जिल्लाका १३५ विद्यालयमा साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको अधिकृत श्रेष्ठले बताए । रुम टु रिड सञ्चालनमा आएपछि विद्यार्थीमा पढाइको विकास र शिक्षकको क्षमता विकास भएको राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिक सीता सिग्देल अर्यालले बताइन् ।

‘यो कार्यक्रम लागू भएपछि विद्यार्थीमा पढाइको कला र रुचि फेरिएको छ,’ उनले भनिन्, ‘यो प्रणालीले सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या बढ्न सक्छ । विद्यार्थीको पढाइमा रुचि बढाउने यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता छ,’ उनले भनिन् ।