काठमाडौँ । काठमाडौँ-हेटौँडा जोड्ने छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साँझ भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले दुर्घटनाको १२ घण्टापछि मात्रै ४ जना मृतकको पहिचान गरेको छ । मृतक दुई जनाको भने अझै पहिचान हुन नसकेको छैन ।
प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौँडा उपमहानगरपालिका-२ कान्ति राजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् । उनीहरूको हेटौँडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया