भोजपुर । आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत् चिया खेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चिया खेती विस्तार थालेको हो ।
गाउँपालिका तथा आम चोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चिया खेतीका लागि रु. तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । उनका अनुसार चिया खेती विस्तारमा एक हजार ३०० जना सेयर सदस्यको सहभागिता छ ।
“आम चोक गाउँपालिकामा चिया खेतीको प्रशस्त सम्भावना छ”, अध्यक्ष राईले भने, “हाल हामी बृहत् रूपमा चिया खेती विस्तार गरिरहेका छौँ । चिया खेतीलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्दै स्थानीयको जीवनस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो ।”
प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आम चोक क्षेत्रका नांगा तथा खाली पाखालाई हरियालीमा रूपान्तरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले चिया खेती विस्तार गरिएको हो । हालसम्म करिब सात सय रोपनीमा चिया खेती विस्तार भइसकेको अध्यक्ष राईले जानकारी दिए ।
आम चोक गाउँपालिकाको माथिल्लो भेगमा प्रशस्त खाली चौर रहेको र उक्त क्षेत्र चिया खेतीका लागि उपयुक्त भएको अध्यक्ष राई बताउँछन् । गाउँपालिकासँगै स्थानीयलाई निजी खाली जमिनमा चिया खेती विस्तार गर्न प्रोत्साहित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने उनले जानकारी दिए । उत्पादन भएको चियाको प्रशोधनका लागि वडा नं २ मा चिया प्रशोधन कारखानाको संरचना निर्माण भइसकेको गाउँपालिका जनाएको छ । मेसिन जडानको काम भने बाँकी छ ।

प्रतिक्रिया