‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’

‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’


काठमाडौं ।

जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामुहीक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

आईतबार काठामाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जनयुद्धका घाइते र अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनयुद्धका घाईते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नु पर्ने बताए । आफूहरुको व्यवस्थापनलाई राज्यले नजर अन्दाज गरे आत्मदाह गर्ने उनको चेतावनी छ ।

‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं ।’ उनले भने ‘ पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं ।’ उनले भने, ‘हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं ।’

नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाईते, अपांगले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुको भनाई छ ।

जनयुद्धका घाईते, अपाङ्गहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको भन्दै उनीहरुले राज्यले गरिखान नसक्ने अवस्थामा रहेकाहरुको जिम्मा लिनु पर्ने माग राखे ।

पूर्वजनमुक्ति सेनाका कमाण्डर लाहानु चौधरीले प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालिन प्रधान सेनापति रुकमाङ्गद कटुवालको अगाडि प्यारालाईज गराएको आरोप लगाए । प्रचण्ड संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको उनको टिप्पणी छ ।