मालढुङ्गा–बेनी सडक स्तरोन्नति : १३ किमि दुई लेन कालोपत्र, यात्रा २० मिनेटमै

मालढुङ्गा–बेनी सडक स्तरोन्नति : १३ किमि दुई लेन कालोपत्र, यात्रा २० मिनेटमै


म्याग्दी,। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भई दुई लेनको कालोपत्र सम्पन्न भएको छ। राष्ट्रिय गौरवको कालिगण्की करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनाअन्तर्गत ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो।

पर्वतको कुमा नगरपालिका–१ मालढुङ्गादेखि जलजला –८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम द्यभलष् जोड्ने १३ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार १३ किलोमिटरमध्ये ९६० मिटर बाहेकका खण्डमा कालोपत्र र ढलान सम्पन्न भइसकेको छ। “ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ,” उनले बताए। वारीबेनीको ७६० मिटर तथा केराबारी र फर्से पहिरो क्षेत्रमा एक–एक सय मिटर सडक ठेक्काबाट हटाइएको छ। वारीबेनीमा बस्तीबीच सडक विस्तारमा घरधनीको असहमति र फर्से–केराबारीमा पहिरोका कारण ती खण्ड हटाउनुपरेको हो।

योजना २०७९ सालमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्रीको अभाव देखाउँदै सहायक ठेकेदारले काम अलपत्र पारेपछि मुख्य ठेकेदार एक वर्षअघि कार्यक्षेत्रमा फर्किएका थिए। यसअघि मालढुङ्गा–फर्से खण्डमा ३।३ किमि कालोपत्र र २।२ किमि ढलान गरिएको थियो। गत मङ्सिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको ६.५ किमि कालोपत्र सकिएपछि प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले जानकारी दिए।

यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतका बासिन्दासँगै पर्यटक तथा तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा ट्र्याक खुलेको सडक २०६८ सालमा एकतर्फी कालोपत्र भएको थियो। मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि सवारी चाप बढ्दा साँघुरो सडक जीर्ण बन्दै गएको थियो।

यातायात व्यवसायी बुद्धि पुनका अनुसार स्तरोन्नतिपछि मालढुङ्गा–बेनी यात्रा समय एक घण्टाबाट घटेर १५–२० मिनेटमा सीमित भएको छ। जलजला–७ मिलनचोकका बाबुराम कार्कीले कालोपत्रपछि धुलो–हिलोबाट हुने जोखिम र कष्टकर यात्रा अन्त्य भएको बताए।