महाकाली राजमार्ग पुनः सञ्चालनमा

महाकाली राजमार्ग पुनः सञ्चालनमा


बैतडी ।

अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।

वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो।

राजमार्गमा खसेको पहिरो जेसिबीको सहायताले पन्छाएपछि दिउँसो राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

पहिरोले यातायात आवागमन पूर्ण रूपमा बन्द भएपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका थिए। राजमार्ग सञ्चालन भएसँगै सवारीसाधन र यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।