बालेनको सानदार जितमा प्रियंका उत्साहित – अब काम गर्ने नेतृत्व चाहिएको छ

बालेनको सानदार जितमा प्रियंका उत्साहित – अब काम गर्ने नेतृत्व चाहिएको छ


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा-५ बाट प्रतिनिधि सभा सदस्यमा संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर सानदार जित हासिल गरेसँगै उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । रास्वपाबाट भावी प्रधानमन्त्रीका आकांक्षी समेत रहेका उनको जितमा कलाकारहरू पनि हर्षित देखिएका छन् ।

अभिनेत्री प्रियंका कार्कीले बालेनलाई बधाई दिँदै नयाँ नेपाल देख्ने आशा अझ बलियो भएको बताएकी छन् । उनले शनिबार फेसबुकमा एक पोस्ट लेख्दै भनेकी छन्, ‘अब पूरै देशको नजर तपाईँमाथि छ । हामीले आशा र विश्वासका साथ तपाईँलाई साथ दिएका छौँ । हामीले धेरै वर्षदेखि भाषण र नाराहरू सुन्दै आएका छौँ । तर, अब देशलाई काम गर्ने नेतृत्व चाहिएको छ ।’

नेपालका युवाहरूले अवसर र समाजले पारदर्शिता खोजेको उल्लेख गर्दै उनले नागरिकहरू फेरि आशामा विश्वास गर्न चाहिरहेको बताएकी छन् । बालेन आशाको किरण बनेर आएकाले जनताले फेरि नयाँ नेपालको सपना देख्न थालेको उनको भनाइ छ । उनले बच्चाहरू नेपालमै बस्ने र यहीँ आफ्नो भविष्य देख्न सक्ने अवस्था बनाउन बालेनलाई सुझाव पनि दिएकी छन् ।प्रियंकाले फागुन २१ गते मतदान गरेपछि सामाजिक सञ्जालमार्फत यसपटक आफूले रास्वपालाई मत दिएको खुलासा समेत गरेकी थिइन् ।