काठमाडौं ।नेपाली काग्रेसका सभापति गगनकुमार थापा लाई पदबाट राजीनामा नदिन नेपाली कांग्रेसका ३२ भन्दा बढी केन्द्रिय सदस्यले सामुहिक आग्रह गरेका छन्। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा शनिबार सभापति थापालाई भेट्न पुगेका नेताहरूले यस्तो आग्रह गरेका हुन्।
वर्तमान राजनीतिक परिस्थितिमा मुलुक, संविधान र पार्टीमाथि विभिन्न चुनौती देखिएकाले थापाको नेतृत्व आवश्यक रहेको उनीहरूले बताएका छन्। “यस्तो बेलामा पार्टीलाई निकास दिन र १५औँ महाधिवेशन सम्पन्न गर्न तपाईंको नेतृत्व आवश्यक छ, त्यसैले राजीनामा नदिनुस् भनेर आग्रह गरेका छौं,” सहभागी एक नेताले बताए। उनका अनुसार संसदीय व्यवस्थामा निर्वाचनमा हारजित स्वाभाविक हुने भएकाले त्यसलाई अत्यधिक रूपमा नलिन पनि नेताहरूले सुझाव दिएका छन्। “निर्वाचनमा कहिलेकाहीँ मतदाताले मन र मत परिवर्तन गर्छन्। त्यसलाई अन्यथा लिनु हुँदैन भन्ने हाम्रो धारणा हो,” उनले भने।
सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जनजति केन्द्रीय सदस्यहरू पुगेका थिए। गत २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि नेपाली कांग्रेस भित्र सभापति थापाले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्।
यसअघि थापाले उपसभापति विश्वप्रकाश शर्मा सँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए।चुनावी समीक्षाको लागि चाँडै केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ।

प्रतिक्रिया