लेबनानमा नेपाली शान्ति सैनिकको क्याम्पमा हवाई आक्रमण, सबै सैनिक सुरक्षित

लेबनानमा नेपाली शान्ति सैनिकको क्याम्पमा हवाई आक्रमण, सबै सैनिक सुरक्षित


 

काठमाडौँ । नेपाली सेना ले लेबनानमा खटिएका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाएको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले यस्तो जानकारी दिएको हो।

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बिकासटाइम्ससंग आक्रमण नेपाली शान्ति सेनाको क्याम्प आसपास भएको भए पनि सबै सैनिक सुरक्षित रहेको बताए। उनका अनुसार आक्रमणबाट सैनिक बस्ने भवनमा सामान्य क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन।

“नेपाली शान्ति सैनिक अहिले बङ्करमा सुरक्षित रूपमा बसिरहेका छन्। आक्रमणबाट सैनिक बस्ने घरमा  क्षति भएको छ, मानवीय क्षति भने भएको छैन,” प्रवक्ता बस्नेतले बताए।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार लेबनानको मेस अल–जाबेल क्षेत्रस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघ मार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टर आसपास हमला भएको खबर प्रसारण भएको थियो।

पश्चिम एसियामा तनाव बढिरहेका बेला यस्तो घटना भएको हो। संयुक्त राज्य अमेरिका र इजरायल ले इरान मा संयुक्त आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि क्षेत्रीय तनाव चर्किएको बताइएको छ।

खामेनीको हत्यापछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह ले लेबनानबाट इजरायलतर्फ हवाई आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपाली शान्ति सैनिकको क्याम्पमा भएको आक्रमणबारे भने इजरायली सेना ले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।