डोटीमा निर्माणाधीन मोटरेबल पुलहरू वर्षौंदेखि अलपत्र, स्थानीयबासी जोखिममा

डोटीमा निर्माणाधीन मोटरेबल पुलहरू वर्षौंदेखि अलपत्र, स्थानीयबासी जोखिममा


डोटी। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा सडक डिभिजन कार्यालय कुलपाते मातहत निर्माणाधीन विभिन्न मोटरेबल पुलहरू निर्धारित समयभन्दा वर्षौंदेखि अलपत्र परेका छन्। ठेकेदार कम्पनीहरूको लापरवाही, पटक(पटक म्याद थप, फाउन्डेसन समस्या र अन्य प्राविधिक जटिलताका कारण यी आयोजनाहरू ढिलो हुँदा स्थानीयबासीहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सडक डिभिजनका अनुसार यस्ता अलपत्र पुलहरूले विकास निर्माणमा गम्भीर चुनौती थपेका छन्।

सबैभन्दा चर्चित अलपत्र आयोजना हो बोगटान फुड्सिल गाउँपालिका–१ र २ जोड्ने केदार अखडाको गलगाड पुल। २०७७ असार २१ गते नेपाल मेगा–सिस्ने जेभीसँग १७ महिनामा सम्पन्न गर्ने गरी ४ करोड ५७ लाख ५१ हजार रुपैयाँ ९भ्याटसहित० मा सम्झौता भएको यो २५ मिटर लम्बाइको पुल २०७८ मंसिर २१ गतेसम्म सकिनुपर्थ्यो। तर निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि हालसम्म मात्र ६२ प्रतिशत काम भएको छ। सुरुमा सडक नपुगी पुल योजना परेको भन्दै स्थानीय विरोध भए पनि पछि सडक पुगेपछि पनि पुल निर्माणमा सुस्तता कायमै छ।

यसैगरी डडेलधुराको डाँडा वन मोटरेबल पुलको अवस्था पनि उस्तै छ। २०७२ भदौ २७ गते राजेन्द्र–चाँदनी जेभीसँग २ वर्षमा सम्पन्न गर्ने गरी ४ करोड ५३ लाख ४९ हजार रुपैयाँमा सम्झौता भएको ४० मिटर लम्बाइको यो पुलमा १० वर्ष बितिसक्दा पनि ८० प्रतिशत मात्र प्रगति छ। सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर गौरव धामीका अनुसार फाउन्डेसन र अन्य प्राविधिक समस्या मुख्य कारण हुन्।

शिखर नगरपालिका–१० र ११ जोड्ने बानेडुंग्रीसैन–सातनाली मोटरेबल पुल अझ बढी विवादास्पद छ। २०७१ असार २९ गते पप्पु–राजेन्द्र जेभीसँग ३ वर्षमा सम्पन्न गर्ने गरी २६ करोड २० लाख ८८ हजार रुपैयाँमा सम्झौता भएको यो पुल १२ वर्ष नजिक पुग्दा पनि २५ प्रतिशतभन्दा कम काम भएको छ। पटक(पटक ९छैटौं पटकसम्म० म्याद थपिँदा पनि प्रगति नगन्य छ। सेती नदी वारपार गर्न स्थानीयले झोलुंगे पुल वा डुंगा प्रयोग गर्नुपर्छ, जसले वर्षायाममा ठूलो जोखिम निम्त्याउँछ। यस पुल नबन्दा स्थानीयहरूले पटक(पटक ध्यानाकर्षण गराए पनि समाधान भएको छैन।

बुडर–जोगबुडा सडक खण्ड अन्तर्गत खाप्का खोलाको पुल पनि अलपत्र छ। २०७७ भदौ २५ गते राजेन्द्र निर्माण सेवासँग २०७९ भदौ २४ गतेसम्म सम्पन्न गर्ने गरी ६ करोड ९७ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएको यो पुलको प्रगति ४० प्रतिशत नाघेको छैन।

यस्तै गैरा–मुडभरा सडक अन्तर्गत खैगाड खोलाको पुल निर्माण नै सुरु भएको छैन। २०७८ कात्तिक ११ गते ठेगिम–जुद्धरपूर्ण–सिंह जेभीसँग २०७९ पुस १० गतेसम्म सम्पन्न गर्ने गरी २ करोड ९५ लाख ८८ हजार रुपैयाँमा सम्झौता भए पनि काम अघि बढेन।

यी पुलहरूको ढिलाइले डोटी र छिमेकी जिल्लाका बासिन्दालाई सडक यातायातमा ठूलो समस्या परेको छ। वर्षायाममा नदी तर्नु जीवनमरणको सवाल बनेको छ। सडक डिभिजन कार्यालयले ठेकेदारहरूमाथि कारबाही र म्याद थप रोक्ने प्रयास गरे पनि प्रभावकारी नभएको स्थानीयको गुनासो छ। सम्बन्धित निकायले यी अलपत्र आयोजनालाई प्राथमिकता दिई छिटो सम्पन्न गर्नुपर्ने देखिन्छ, नत्र बजेट दुरुपयोग र जनताको विश्वास गुम्ने खतरा बढ्दै गएको छ।