इजरायलको डिमोना आणविक केन्द्रमा क्षेप्यास्त्र प्रहार

इजरायलको डिमोना आणविक केन्द्रमा क्षेप्यास्त्र प्रहार

तेहरानमा इजरायलको जवाफी हमला


एजेन्सी । इरान र इजरायलबीचको द्वन्द्वले गम्भीर मोड लिएको छ। इरानले इजरायलको रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने डिमोना आणविक केन्द्र नजिकै क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले इरानको राजधानी तेहरानमा शृङ्खलाबद्ध हवाई हमला सुरु गरेको घोषणा गरेको छ। इजरायलको अभेद्य मानिने सुरक्षा प्रणालीलाई चिर्दै एक ब्यालेस्टिक क्षेप्यास्त्र डिमोना सहरमा खसेको छ। जोर्डनको अम्मानबाट प्राप्त रिपोर्ट अनुसार, इजरायलको आणविक कार्यक्रमको केन्द्र मानिने दक्षिणी मरुभूमि क्षेत्रमा भएको यस आक्रमणमा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये एक १२ वर्षीय बालकको अवस्था गम्भीर रहेको बताइएको छ। इरानले आफ्नो नातान्ज आणविक केन्द्रमा भएको आक्रमणको बदला लिन यो कदम चालेको दाबी गरेको छ।
उता, इरानी आक्रमणको केही समयलगत्तै इजरायली सेनाले तेहरानस्थित सरकारी पूर्वाधारहरूमा आक्रमण सुरु गरेको जानकारी दिएको छ। इजरायलले यसलाई ‘हमलाको शृंखला’ को सुरुवात भनेको छ। दक्षिणी इजरायलमा इरानी क्षेप्यास्त्रका कारण १०० भन्दा बढी मानिस घाइते भएपछि इजरायलले यो कडा कदम चालेको हो। आक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै इजरायलको ‘होम फ्रन्ट कमाण्ड’ले देशको दक्षिणी क्षेत्रमा कडा प्रतिबन्धहरू लागू गरेको छ । त्यहाँ देशभरका विद्यालय र शैक्षिक संस्थाहरू सोमबार र मंगलबारका लागि बन्द गरिएको छ।
नेगेभ, लाचिस र डेड सी क्षेत्रमा ५० जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। कुनै पनि ठुला कार्यक्रमहरू गर्दा क्षेप्यास्त्रको सूचना पाउनासाथ सुरक्षित स्थान सम्म पुग्न सक्ने सुनिश्चितता हुनुपर्ने नियम बनाइएको छ। इजरायलमा ४५ सयभन्दा बढी नेपाली कृषि मजदुरहरू कार्यरत छन् । इजरायलले आफ्ना ९९ प्रतिशत क्षेप्यास्त्रहरू आकाशमै नष्ट गर्ने दाबी गर्दै आएको सन्दर्भमा डिमोना जस्तो संवेदनशील क्षेत्रमा कसरी क्षेप्यास्त्र छिर्न सफल भयो भन्नेबारे इजरायली अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्। शनिबार दिनभर डिमोनामा सात पटक हवाई आक्रमणको साइरन बजेको थियो।