प्रधानमन्त्रीको शपथ नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मन्त्री छनोट र सरकार गठनको छलफल तीव्र बनेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच अनौपचारिक कुराकानी चलिरहेको छ ।
संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिने छन् र उनी नै सांसदहरूलाई शपथ गराउनेछन् । शपथ ग्रहणपछि रास्वपाले दलको बैठक राखेर संसदीय दलको नेता चयन गर्ने योजना छ । ‘शपथ लगत्तै दल बैठक बसेर नेता चयन गर्ने कि चैत १३ गते बोलाउने भन्ने छलफल भइरहेको छ,’ एक नेताले बताए । पार्टी प्रवक्ता मनिष झाले दल बैठकबारे अझै सूचना नआएको र शपथको मात्र तयारी भएको जानकारी दिए । रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी दुई तिहाइ नजिक (१८२ सिट) बहुमत प्राप्त गरेको छ ।
संविधानको धारा ७६(१०)अनुसार बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् । पार्टीले चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी गरेको छ । सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्लेसहितको बुधबारको छलफलमा यो मिति टुंगो लागेको हो । महामन्त्री कविन्द्र बुर्लाकोटीले मन्त्रिपरिषदको आकार घटाउने जानकारी दिए । संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् सीमित गरेको छ तर रास्वपाले चुनावी वाचा पत्रमा संघीय मन्त्रालय १८ मा झार्ने उद्घोष गरेको छ । ‘कम्तीमा १५ देखि बढीमा १८ मन्त्रालय बनाउने गरी छलफल भइरहेको छ,’ उनले भने । वाचा पत्रअनुसार विज्ञता र विशेषज्ञतामा आधारित मन्त्री चयन गर्ने लक्ष्य छ । प्रधानमन्त्री कार्यालयलाई अन्तर(मन्त्रालय समन्वय र ठूला आयोजनाको अनुगमन गर्ने नतिजामुखी निकाय बनाइने छ ।
मन्त्री छनोटमा सभापति लामिछाने र वरिष्ठ नेता शाहले सूची तयार पारिरहेका छन् । विषयविज्ञ, कमान्डिङ क्षमता र सेवा प्रवाहमा ध्यान दिनेहरूलाई प्राथमिकता दिइएको छ । गृह मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल ९डिपी० र महामन्त्री सुनिल लम्सालको नाम चर्चामा छ । लामिछाने अर्याललाई चाहेका छन् भने शाहले लम्साल (काठमाडौं महानगरका पूर्वाधार विज्ञ र विश्वासपात्र) लाई प्रस्ताव गरेका छन् । अर्याललाई सभामुख पनि प्रस्ताव गरिएको छ तर उनले गृहमा रुचि देखाएका छन् । अर्थ मन्त्रालयमा उपसभापति स्वर्णिम वाग्लेको नाम सर्वसम्मतिजस्तै छ । प्रवक्ता मनिष झा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न इच्छुक छन् । चितवन–३ बाट निर्वाचित सोबिता गौतमलाई कानुन मन्त्री बनाउने तयारी छ । उनी सभामुखका लागि पनि चर्चामा छन् । पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सभामुखमा दाबी गरेकी छन् । परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधारमा लम्साललाई जिम्मेवारी दिने सम्भावना छ । सस्मिता पोखरेल, राजुनाथ पाण्डे, सुम्निमा उदास, डा. तोसिमा कार्की, विराजभक्त श्रेष्ठ लगायतका नाम पनि मन्त्री सूचीमा छन् । मुख्य सचेतकमा महामन्त्री बुर्लाकोटी र सचेतकमा निशा डाँगीको चर्चा छ । पार्टीले जनादेशअनुसार छरितो, प्रभावकारी र विज्ञतामा आधारित सरकार बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया