सुरु भो तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रकृया

सुरु भो तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रकृया


दमौली। तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।   तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) बाट प्राप्त हुने नियन्त्रित पानी र मादी नदीबाट थप पानीको उपयोग गरी तल्लो तटीय क्षेत्रमा यो आयोजना निर्माण गर्न लागिएको हो। आयोजनाको विस्तृत आयोजना प्रतिवेदन  तयार भइसकेको छ।
तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार, विद्युतगृह, कार्यालय र कर्मचारी आवास क्षेत्रका लागि देवघाट गाउँपालिकामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। मुआब्जा निर्धारण समितिअन्तर्गत गठित उपसमितिले प्रभावित क्षेत्रमा रहेका संरचनाको नापजाँच तथा क्षति सूची तयार पारी प्रतिवेदन पेस गरिसकेको छ।   आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिक सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। पानीलाई ६.८ किलोमिटर लामो सुरुङमार्फत देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुने अर्धभूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गरिने योजना छ।
आयोजनाबाट वार्षिक औसत ५२ करोड युनिट विद्युत उत्पादन हुने अनुमान छ। अनुमानित लागत करिब २५ अर्ब रुपैयाँ रहेको छ। उत्पादित विद्युतलाई तनहुँ जलविद्युत् आयोजनाले बनाएको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडिने छ। यसका लागि थप करिब २ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।
आयोजनाले बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने छन्।
यसअघि नै आयोजनाको पहुँच सुरुङ निर्माण कार्य सुरु भइसकेको छ भने चितवनबाट विद्युतगृह क्षेत्र जाने त्रिशुली नदीमाथि पहुँच पुल निर्माणका लागि लागत अनुमान र टेन्डर कागजात तयारी सम्पन्न भएको छ। आयोजनाको करिब १२ किलोमिटर लामो अर्धजलाशय माथिल्लो तटीय क्षेत्रसम्म विस्तार हुने छ।  कम्पनीले विद्युत उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। दातृ निकाय एसियाली विकास बैंक ९ब्म्द्य० बाट प्राप्त ३।५ मिलियन अमेरिकी डलर अनुदान सहयोगमा विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयार पार्ने काम पनि भइरहेको छ।