एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ


काठमाडौं । नाबालिग बालिकालाई घरेलु कामदार बनाएर शारीरिक तथा मानसिक हिंसा गरेको आरोपमा नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य **रेखाकुमारी शर्मा** पक्राउ परेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति करिब ११ बजे धुम्बाराहीस्थित उनको निवासबाट शर्मालाई पक्राउ गरेको हो । उनी एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।

यो घटना करिब डेढ वर्षअघि सार्वजनिक भएको थियो । २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाको टोलीले बालुवाटार (धुम्बाराही) स्थित शर्माको घरबाट एक १४ वर्षीया बालिकाको उद्धार गरेको थियो । ती बालिकाले ६ वर्षदेखि शर्माको घरमा कामदारको रूपमा काम गर्दै आएको र नियमित कुटपिट (हात, पाइप र लट्ठीले) भएको बयान दिएकी थिइन् । बालिकाको अवस्था नाजुक देखिएपछि महानगरले उद्धार गरी संरक्षणमा राखेको थियो ।

महानगरपालिकाले बालबालिका सम्बन्धी ऐनअन्तर्गत शर्माविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको थियो । तर, ओली सरकारको पालामा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयमा राजनीतिक प्रभाव परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले समेत छानबिन थालेको थियो ।

अहिले उक्त पुरानो मुद्दा पुनः सक्रिय भएपछि प्रहरीले शर्मालाई पक्राउ गरेको हो । प्रहरीले बालबालिकासम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनाले बालश्रम शोषण र सांसदस्तरीय व्यक्तिले कानुन माथि खेल्ने प्रयासबारे पुनः बहस उठाएको छ ।