दाङ।दाङको घोराही–लमही सडकखण्डलाई फराकिलो बनाउने काम सुरु भएको छ। जोखिमपूर्ण मोड र साँघुरा स्थानहरू खुला गर्दै उक्त सडकलाई चार लेनको स्वरूपमा विकास गर्ने लक्ष्यका साथ विस्तार कार्य अघि बढाइएको हो।सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षभित्रै सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको छ। यसअघि साँघुरो सडकका कारण बारम्बार सवारी दुर्घटना हुने समस्या रहेकामा अब सडक विस्तारसँगै मोड सुधार भएपछि यातायात सञ्चालन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरी दुवैतर्फको दृश्य स्पष्ट देखिने बनाउने काम भइरहेको छ। साँघुरा स्थानहरूमा सडकको चौडाइ बढाउने, माटो कटिङ गर्ने तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरी सडक विस्तार गर्ने काम जारी रहेको प्रमुख विष्टले बताउनुभयो।घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्म करिब १७ किलोमिटर सडकखण्ड फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ।
घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोड सुधार, कटिङ तथा पर्खाल निर्माणका लागि कुल २० करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरका तीनवटा ठेक्का सम्झौता गरिएको छ। लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा सडक सुधारको काम अघि बढाइएको हो। कार्यालयका अनुसार कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड विस्तारका लागि श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभी दाङसँग १३ करोड ४६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। यस्तै मसोटखोलादेखि अर्जुनखोलासम्मको सडकखण्ड विस्तारका लागि श्री इजी–अलकापुरी जेभीसँग ६ करोड ८० लाख ९० हजार रुपैयाँमा सम्झौता गरिएको छ।
प्रमुख विष्टका अनुसार चौपट्टादेखि अर्जुनखोलासम्मको सडक सुधार कार्य चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक फराकिलो बनेपछि बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिम समेत घट्ने विश्वास गरिएको छ।

प्रतिक्रिया