दार्चुला। ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको ज्यान गएको हो । उनीहरू कामको सिलसिलामा काडापारीबाट ओसिलतर्फ जाँदै थिए ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया