काभ्रेपलाञ्चोक । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो तथा महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा रहेको बिपी राजमार्ग पछिल्लो डेढ वर्षदेखि यात्रुका लागि निकै कठिन बन्दै आएको छ। सामान्यदेखि मध्यम वर्षाले समेत पटक–पटक सडक अवरुद्ध हुने अवस्था सिर्जना भएपछि यात्रु तथा सवारी चालकले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। चालु चैत महिनाको मध्यसम्म मात्रै दुई पटक राजमार्ग अवरुद्ध भइसकेको छ।
गत वर्ष र यस वर्षको असोज महिनामा आएको बाढीपहिरोले विशेषगरी काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुली क्षेत्रसम्मका सडकखण्डलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएको थियो। केही स्थानमा सडक पूर्ण रूपमा बगाएको र कतिपय ठाउँमा सडकको नामोनिसानै मेटिएको अवस्थामा अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गर्नुपरेको थियो। अहिले पनि अस्थायी संरचनामा निर्भर रहँदा सानो वर्षाले समेत यातायात सेवा प्रभावित हुने गरेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार प्रारम्भिक अनुगमनमा करिब चार किलोमिटर सडक पूर्ण रूपमा बगाएको पाइएको छ। रोशी खोलामा आएको बाढीका कारण बर्दिबासदेखि धुलिखेलसम्म करिब १० किलोमिटर सडकमा क्षति पुगेको थियो। त्यसपछि अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याइए पनि पुनः असोज १७ र १८ गतेको वर्षाले थप क्षति पुर्याएको हो।
गत वर्ष असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा गम्भीर क्षति पुर्याएको थियो। नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास तथा एक नम्बर पुल आसपासका क्षेत्रमा सयौँ मिटर सडक बगाएको थियो। त्यसबेला साना खोलाहरूले समेत डाइभर्सन बगाएका थिए। काभ्रेपलाञ्चोकतर्फ नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसी क्षेत्रका सडकखण्डहरू पनि बाढीले पूर्ण रूपमा बगाएका थिए। त्यसपछि खोलिएको अस्थायी ट्र्याकलाई गत बैशाख अन्तिम साताको बाढीले फेरि क्षति पुर्याएपछि पुनः अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।
बारम्बारको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्गलाई अब स्थायी रूपमा पुनर्निर्माण गर्ने कार्य तीव्र पारिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार राजमार्गको जोखिमयुक्त स्थानहरूमा आगामी वर्षायामअघि नै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उहाँले हाल भइरहेका कामको प्रगति हेर्दा दुई वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। हाल काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीन वटा सडकखण्डमा करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनर्निर्माण गरिनेछ। उक्त खण्डको ठेक्का सम्झौता यसै महिनाभित्र हुने तयारी रहेको जनाइएको छ।
पुनर्निर्माणअन्तर्गत विभिन्न स्थानमा आरसीसी पर्खाल निर्माण गर्ने कार्य जारी छ। चौकीडाँडामा खोलाबाट पर्खाल निर्माण भइरहेको छ भने चारसयबेँशी र भकुण्डेबेँशी क्षेत्रमा पनि आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ। साथै डालाबेँशी, मङ्गलटार र चारसयबेँशीदेखि नार्के खण्डसम्म सडक चौडा बनाउने कार्य भइरहेको छ। पुनर्निर्माणपछि राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेनको बनाइने योजना छ। नयाँ निर्माण हुने सडक सात मिटर चौडाइको कालोपत्रे हुने र पुलहरूलाई समेत दुई लेनको बनाइनेछ। पाँच वटा पुललाई दुई लेनमा रूपान्तरण गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।
डालाबेँशीदेखि चारसयबेँशीसम्म ८ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि एक अर्ब ४२ करोड रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता भएको छ। यस्तै चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म ११ दशमलव ८ किलोमिटर सडक पुनर्निर्माणका लागि एक अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। नेपालथोकदेखि बर्खेखोलासम्मको ४ दशमलव ९ किलोमिटर सडक पुनर्निर्माणका लागि करिब ६१ करोड रुपैयाँमा सम्झौता गरिएको छ। कुल २९ दशमलव ५ किलोमिटर क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले करिब आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फ एक अर्ब रुपैयाँ छुट्याइएको छ।
यद्यपि राजमार्ग क्षतिग्रस्त हुनुमा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने टिपर पनि मुख्य कारण बनेको देखिएको छ। जाइकाको प्राविधिक अध्ययनले १६ टनभन्दा माथिका सवारी सञ्चालन नगर्न सुझाव दिए पनि व्यवहारमा २५ टनसम्मका टिपर सञ्चालन भइरहेको पाइएको छ। दैनिक करिब छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन हुने गरेका छन्। अनुगमनको कमजोरीका कारण नियम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्थानीय सरोकारवालाहरूको गुनासो छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा दैनिक तीन हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वी नेपालबाट आउने सवारीसाधनको चाप झनै बढ्ने गरेको छ।
जापान सरकारको सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो बिपी राजमार्ग २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। राजधानी काठमाडौँलाई मध्यपहाडी र पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा चिनिएको यो राजमार्ग हाल व्यापक पुनर्निर्माणको चरणमा रहेको छ।

प्रतिक्रिया