“हनी ट्र्याप” प्रकरणसँग जोडिएको प्रहरी निरिक्षक शाहीलाई अदालतले दियो सफाइ

“हनी ट्र्याप” प्रकरणसँग जोडिएको प्रहरी निरिक्षक शाहीलाई अदालतले दियो सफाइ


काठमाडौं । ललितपुरमा कथित “हनी ट्र्याप” प्रकरणसँग जोडिएको आपराधिक लाभ मुद्दामा संलग्न भनिएका ६ जनामध्ये अधिकांशले अदालतबाट सफाइ पाएका छन्। जसमा नेपाल प्रहरीका प्रहरी निरिक्षक बिनुकुमारी शाही पनि रहेकी छिन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले प्रहरी निरिक्षक शाहीसहित पाँच जनालाई आरोपबाट मुक्त गर्ने निर्णय गरेको हो। यसै मुद्दामा ताजमूल उर्फ तजम्मुल इसलाम भने दोषी ठहर भएका छन्।

अदालतको निर्णयअनुसार इसलामलाई एक वर्ष ६ महिना कैदसँगै ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अन्य अभियुक्तहरू सुस्मा विश्वकर्मा, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेललाई भने आरोप पुष्टि नभएको भन्दै सफाइ दिइएको छ। यो मुद्दा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते दर्ता गरेको थियो। संखुवासभाका इन्द्रकुमार राईबाट ठूलो रकम असुलिएको आरोपमा उनीहरूमाथि अनुसन्धान गरिएको थियो।

अभियोगअनुसार पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिँदै सुरुमा ६० लाख रुपैयाँ माग गरिएको र पछि ३० लाख असुल गरिएको दाबी गरिएको थियो। घटनाका क्रममा उनलाई प्रहरी प्रभाग बुंगमतीसम्म लगेर रकम मागिएको आरोप पनि थियो। यद्यपि, अदालतले प्रस्तुत प्रमाणका आधारमा शाहीसहित अन्य पाँच जनामाथिको आरोप पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको हो।