७ वटा मरेका गाईसहित २ जना पक्राउ

७ वटा मरेका गाईसहित २ जना पक्राउ


नवलपुर ।

७ वटा मरेका गाईसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहट गजुरा ७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपुरको मध्यविन्दु ८ निवासी ४० वर्षीय ध्रुव कार्की रहेका छन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारातर्फ ल्याउँदै गरेको अवस्थामा बा.प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा ९ वटा गाई ल्याउँदै गरेको अवस्थामा २ जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको हो ।

पिकअपमा ९ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा ७ वटा गाई मरेको र २ वटा गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ । गाई, पिकअप र घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई, पिकअप र पक्राउ परेका २ जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासमा राखिएको छ ।