सिरहा नगर प्रमुख नवीन यादवविरुद्ध पक्राउ पुर्जी

सिरहा नगर प्रमुख नवीन यादवविरुद्ध पक्राउ पुर्जी

 कर्मचारी कुटपिट आरोपपछि नगरपालिका ठप्प


सिरहा — सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कार्यालय सहयोगीमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि चैत २३ गते आफ्नै कार्यकक्षमा कुटपिट गरेको आरोपमा पीडितले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले अदालतबाट पक्राउ पुर्जी लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार मेयर नवीनकुमार यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। “मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, अहिले उहाँ यहाँ हुनुहुन्न, हामी खोजी गरिरहेका छौँ,” उनले बताए। घटनापछि नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। कुटपिटको विरोधमा कर्मचारीहरूले सोही दिनदेखि कार्यालयमै धर्ना दिँदै प्रदर्शन गरिरहेका छन्। कर्मचारी आन्दोलनका कारण नगरपालिकाको नियमित कामकाज ठप्प बनेको छ।

पीडित रामशरण यादवका अनुसार चैत २३ गते बिहान ९ बजे कार्यालयमा हाजिरी गरिरहेको बेला मेयर यादवले गालीगलौज गर्दै लात्ती र मुक्का प्रहार गरेका थिए। हाल उनी उपचाररत रहेका छन्। आन्दोलित कर्मचारीहरूले पीडितको निःशुल्क उपचार गरिनुपर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, नगर प्रमुखमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनुपर्ने तथा कर्मचारीले आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले कर्मचारीका मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन्।