इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पुग्यो पाकिस्तानमा

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पुग्यो पाकिस्तानमा


काठमाडौं । अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल शनिबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ ।  बीबीसीका अनुसार पाकिस्तानको विमानस्थल स्रोतले जनाएअनुसार उपराष्ट्रपति भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । यो २१ वर्षपछि अमेरिकी उपराष्ट्रपतिको पाकिस्तान भ्रमण हो । यसअघि सन् २००५ मा तत्कालीन उपराष्ट्रपति डिक चेनीले पाकिस्तान भ्रमण गरेका थिए ।

उपराष्ट्रपति भान्ससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनर पनि प्रतिनिधिमण्डलमा छन् । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा रहेको इरानी टोली यसअघि नै इस्लामाबाद पुगिसकेको छ । विदेशमन्त्री अब्बास अरघची पनि इरानी टोलीमा सहभागी छन् ।  पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै वार्तालाई सफल बनाउन पूर्ण प्रयास गर्ने बताएका छन् । इस्लामाबादमा वार्ताका लागि उच्च सुरक्षा व्यवस्था गरिएको छ ।

दुवै देशबीच गत वर्ष दुई पटक वार्ता भए पनि असफल भएका थिए । यसपटक आणविक मुद्दा, क्षेत्रीय सुरक्षा र स्थायी युद्धविराममा केन्द्रित हुने अपेक्षा गरिएको छ । यो वार्ताको नतिजाले मध्यपूर्वको शान्ति प्रक्रियामा निर्णायक प्रभाव पार्न सक्ने बताइएको छ ।