काठमाडौ । नेकपा एमालेमा पार्टी नेतृत्व पुनर्गठनको विषयले तीव्रता पाएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक बिदाइ दिई पार्टी पुनर्गठन गर्ने विषयमा नयाँ समझदारी बनेको स्रोतले जनाएको छ । एमालेका पदाधिकारी तहका एक नेताका अनुसार पौडेल र पोखरेलबीच हालै पार्टी पुनर्गठनबारे गम्भीर छलफल भएको छ । “महासचिव पोखरेल पनि नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्ने मनस्थितिमा पुगिसक्नुभएको छ,” ती नेताले दाबी गरे । पौडेलनिकट अर्का नेताले पनि पोखरेलले पौडेलसँगको कुराकानीमा यो कुरा स्पष्ट रूपमा बताएको जानकारी दिए । “उहाँहरू छिट्टै नयाँ समझदारीमा पुग्ने सम्भावना देखिएको छ,” स्रोतले भन्यो ।
यो समझदारीको पहिलो संकेत चैत २० गते बसेको सचिवालय बैठकमा देखिएको थियो । चैत १९ गते प्रतिनिधिसभाको बैठकमा दलका तर्फबाट बोल्दै नेता रामबहादुर थापा ‘बादल’ले निर्वाचनको विजयमा नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, एनजिओलगायतको भूमिका रहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेलले तत्काल आपत्ति जनाएका थिए । उनले भोलिपल्टै सचिवालय बैठक बोलाउन माग गरे । चैत २० गते बसेको बैठकले बादलको अभिव्यक्ति सच्याउने निर्णय गर्यो ।
बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको छ र भविष्यमा अझ सुदृढ बनाइने छ ।”
बैठकमा महासचिव पोखरेलले बादलको अभिव्यक्ति सच्याउन महत्वपूर्ण भूमिका खेलेको र “जनादेशको सम्मान गर्नुपर्छ, जनादेशविपरीत धारणा राख्नुहुँदैन” भन्दै अडान लिएको स्रोतले बताएको छ ।
एमाले स्रोतका अनुसार उपाध्यक्ष पौडेलले लामो समयदेखि पार्टीमा नेतृत्व नवीकरणको कुरा उठाउँदै आएका छन् । महासचिव पोखरेल पनि हालैका दिनमा यस विषयमा सकारात्मक देखिएका छन् । दुवै नेताबीचको यो छलफलले पार्टीभित्रको शक्ति सन्तुलन फेरबदल हुन सक्ने संकेत दिएको छ । अध्यक्ष ओलीलाई सम्मानजनक रूपमा बिदाइ दिएर नयाँ नेतृत्व चयन गर्ने र पार्टी संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्ने विषयमा उनीहरूबीच छलफल केन्द्रित रहेको बताइएको छ ।
एमालेमा पछिल्लो समय ओलीविरुद्ध असन्तुष्टि बढ्दै गएको छ । निर्वाचन परिणाम, पार्टी सङ्गठन र भावी रणनीतिबारे मतभेद बढेपछि पौडेल र पोखरेल जस्ता प्रभावशाली नेताहरूबीच नयाँ समीकरण बन्न लागेको देखिन्छ । यद्यपि, अध्यक्ष ओली पक्ष भने अझै पनि बलियो रहेको र कुनै पनि परिवर्तनलाई चुनौती दिन तयार रहेको स्रोतहरूको दाबी छ ।

प्रतिक्रिया