काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले बागमती स्विट्स उद्योगमा गम्भीर लापरबाही फेला पारेको छ। आकस्मिक अनुगमनका क्रममा उद्योगको सरसफाइ र गुणस्तरमा ठूलो समस्या देखिएको विभागले जनाएको छ।
अनुगमन टोलीले ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटाएको छ। टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ। उद्योगमा सरसफाइ अत्यन्त न्यून रहेको, कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको र कामदारहरूले समेत न्यूनतम स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बागमती स्विट्सको कारखानाबाट हुने सबै उत्पादन र बिक्री वितरण तत्काल रोक्का गरेको छ। अर्को आदेश नभएसम्मका लागि उद्योग पूर्ण रूपमा बन्द रहने विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले बताइन्।
“उद्योगलाई कैफियत सुधार गरी प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ,” डा. शर्माले भनिन्। थप अनुसन्धानका लागि कीरा परेको बदाम र ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ। विभागले सार्वजनिक गरेको तस्बिरमा उद्योगको भान्सा र भण्डारण कक्ष अत्यन्त फोहर देखिन्छ। कामदारहरूले हात धुने, टोपी लगाउने जस्ता आधारभूत स्वास्थ्य मापदण्ड पनि पालना नगरेको देखिएको छ।
उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले चेतावनी दिएको छ। विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न मिठाई उद्योगमा नियमित अनुगमन जारी छ र गुणस्तरमा लापरबाही गर्ने उद्योगहरूलाई कडा कारबाही गरिने छ।

प्रतिक्रिया