एसएलसीको नक्कली सर्टिफिकेटले मास्टरको जागिर, अख्तियारले हाल्यो मुद्दा

एसएलसीको नक्कली सर्टिफिकेटले मास्टरको जागिर, अख्तियारले हाल्यो मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षिकामाथि मुद्दा दायर गरेको छ ।

विदुर नगरापालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षिक मञ्जु कुमारी थापा (ओझा)माथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा थापाले भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आज थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उतिर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

सोही आधारमा शिक्षक थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।