कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त


काठमाडौँ।  कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण राज अवस्थी नियुक्त भएका छन् । उनीसँग पत्रकारिता, आर्थिक–राजनीतिक विश्लेषण र अध्यापन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । अवस्थी कान्तिपुर दैनिकसँग दोस्रो पटक आबद्ध भएका हुन् । यसअघि उनी आर्थिक समाचार सम्पादकको भूमिकामा काम गरिसकेका छन् । त्यतिबेला उनले आर्थिक पत्रकारितालाई गहिरो र परिष्कृत बनाउन महत्वपूर्ण योगदान दिएका थिए ।

पछिल्लो समय उनी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को महानिर्देशकको जिम्मेवारीमा थिए । महासंघमा रहँदा उनले निजी क्षेत्रको प्रवर्द्धन, उद्यमशीलता विकास र नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । महासंघमा आबद्ध हुनुअघि उनी संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा दिगो विकास लक्ष्य (एसडीजी) का सल्लाहकार थिए । आर्थिक पत्रकार समाज नेपाल (सेजन) को पूर्वअध्यक्ष समेत रहेका अवस्थी नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यको रूपमा पनि काम गरिसकेका छन् । उनले व्यावसायिक वातावरण र अन्तर्राष्ट्रिय व्यवसाय विषयमा अध्यापन पनि गरिरहेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अनुसार, प्रधान सम्पादक उमेश चौहानको राजीनामापछि खुला आवेदन आह्वान गरिएको थियो । १७ आवेदनमध्ये अन्तिम छनोटमा अवस्थी सर्वसम्मत रूपमा नियुक्त भएका हुन् ।