तीन दिनभित्र बसपार्कबाटै सवारी सञ्चालन गर्न महानगरको अन्तिम चेतावनी

तीन दिनभित्र बसपार्कबाटै सवारी सञ्चालन गर्न महानगरको अन्तिम चेतावनी


काठमाडौं । काठमाडौं महानगरपालिका ले जथाभाबी रूपमा सडकबाट सञ्चालन भइरहेका सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाटै एकीकृत रूपमा सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ। महानगरले आफ्नो सूचनालाई बेवास्ता गर्दै सडकबाटै सेवा सञ्चालन गर्ने यातायात कम्पनीहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरेको हो।

महानगरले गत चैत २५ गते नै लामो तथा छोटो दूरीका बसहरू नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरेको थियो। तर केही व्यवसायीहरूले उक्त सूचनाको अवज्ञा गर्दै सडकबाटै सेवा सञ्चालन जारी राखेपछि महानगरले अन्तिम पटक कडाइ गरेको जनाएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बसेको बैठकमा नुवाकोटतर्फ चल्ने कम्पनीहरू सम्पर्कमा आए पनि धादिङतर्फ चल्ने यातायात कम्पनीहरूले भने सूचनाको बेवास्ता गरेको जानकारी दिइएको थियो। कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरीलाई नेपाल प्रहरी सँग समन्वय गरी तत्काल अनुगमन सुरु गर्न निर्देशन दिएकी छन्।

बैठकमा सहरी सुरक्षा र प्रविधिको प्रयोगसम्बन्धी विषयमा पनि छलफल भएको थियो। अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की ले सहरी सुरक्षालाई जनशक्तिभन्दा प्रविधिमार्फत निगरानी बढाउनुपर्ने सुझाव दिएका थिए।

त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी ले सडक अनुशासन कायम गर्न विभिन्न निकायबीच समन्वयात्मक कार्यक्रम आवश्यक रहेको बताएका थिए।

हाल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्क मा करिब ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ। प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाह का अनुसार बसपार्क बाहिरै यात्रु ओसार्ने प्रवृत्तिका कारण ट्राफिक जाम र सुरक्षा जोखिम बढ्दै गएको छ।

ल्होत्से बहुउद्देश्यीय प्रालि का अनुसार हाल बसपार्कभित्र औसतमा दैनिक ३४० वटा गाडी आउने–जाने गरेका छन्। काठमाडौंबाट दैनिक बाहिरिने करिब ७०० सवारीमध्ये झण्डै ५० प्रतिशत अझै पनि बसपार्क बाहिरै पार्किङ गर्ने र यात्रु चढाउने–ओराल्ने गरेकाले सहरी व्यवस्थापनमा चुनौती थपिएको जनाइएको छ।