कांग्रेसको संविधान संशोधन सुझाव समितिले थाल्यो काम

कांग्रेसको संविधान संशोधन सुझाव समितिले थाल्यो काम


काठमाडौं । नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीसमेत सहभागी भएका थिए ।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका थिए । संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरू संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाइ छ । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका छन् ।

समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा कांग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला कांग्रेसले पनि गृहकार्य सुरु गरेको हो ।

प्रधानमन्त्रीका सल्लाहाकार असिम शाहको संयोजकत्वमा सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिए । उनका अनुसार सरकारले शुक्रबारसम्ममा प्रतिनिधिको नाम पठाउन भनेको छ भने यस समितिको अर्को बैठक आगामी विहीबार बस्ने तय गरिएको छ ।

कांग्रेसले बनाएको समितिको सदस्यहरुमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता छन् ।