डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष,भन्छन्-‘डोको बुनेर २ छाकको जोहो गर्नै मुस्किल छ’

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष,भन्छन्-‘डोको बुनेर २ छाकको जोहो गर्नै मुस्किल छ’


मलेखु ।

धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ ।

चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।

आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।

“पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो”, चेपाङले भने, “अहिले बजारमा डोको बिक्न छोड्योे ।” चौकीभञ्ज्याङ र आसपासका सबैको पुख्र्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए ।

चेपाङ कतिले पुख्र्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताए । उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।

डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । “हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन”, उनले भने, “अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउदैनन् । पुख्यैली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर २ छाकको जोहो गर्नै मुस्किल छ ।”

विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा १० सम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । “त्यस समयमा २ मा एक पाथी नून, ६ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०–१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो”, उनले भने, “अहिले बजारमा डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।” उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।

उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाए । “त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ २ सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो”, तिलकुमारीले भने, “अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।”

डोकोको आकार हेरेर ३ सयदेखि ५ सयसम्म र खाङ्ग्रेको १ हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताए । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो । “गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । छदेखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ”, उनले भने ।

प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताए । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो ।

चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुख्र्यौली पेसा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् ।