दरबन्दी छ कर्मचारी छैनन्, नागरिकता वितरण ठप्प

दरबन्दी छ कर्मचारी छैनन्, नागरिकता वितरण ठप्प


काठमाडौँ ।

जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार इलाका प्रशासन कार्यालयमा निमित्तको रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा भएपछि काम काज रोकिएको हो । उनले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने पनि बताएका छन् ।

इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटमा अधिकृतस्तरको दरबन्दी छ तर सरकारले कर्मचारी पठाउन सकेको छैन ।

सिञ्जा क्षेत्रको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण गर्दा नागरिकलाई नागरिकता लिन सहज भएको थियो । तर वर्षायामको झरी अनि भौगोलिक विकटता र कठिनाइका कारण जिल्ला प्रशासन कार्यालय जान नसक्ने सेवाग्राहीलाई फेरि सास्ती भएको छ ।

कार्यालयमा नागरिकता लिन जानेहरू कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् ।