काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । यसअघि पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा चीनबाट थप लगानीको अपेक्षा पनि व्यक्त गरे ।
त्यसैगरी, राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

प्रतिक्रिया