सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो झरेको छ ।
जुरेको शीरबाट ठूलो सुख्खा पहिरो झरेको हो । पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो ।
मध्यान्न १२ बजेतिर डरलाग्ने गरी सुख्खा पहिरो खसेको स्थानीय प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार अझै पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण अरनिको राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् । स्थानीय त्रस्त छन् ।
२०७१ मा झरेको पहिरोको माथिल्लो भागबाट एउटा ढिस्को खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मानवीय तथा भौतिक क्षति भने भएको छैन । ‘अहिलेसम्म कुनै किसिमको क्षति भएको विवरण प्राप्त भएको छैन’,जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले भने ।
२०७१ साउन १७ गतेको राति जुरेमा पहाड नै खसेको थियो । राम्चेको इटिनी भीर खस्दा मांखा, कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाएका थिए ।
त्यसबेला कयौँ स्थानीय घाइते भएका थिए । उक्त ठूलो पहिरो खसेको स्थानबाट ९ वर्षपछि अर्को सुख्खा पहिरो खसेको हो ।
प्रतिक्रिया